काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रहरूमा पठाइसकिएको र केही स्थानमा पुर्‍याउने प्रक्रिया जारी रहेको जनाइएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सबै तयारी पूरा भइसकेको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रहरूमा पुगिसकेको उनले बताए ।यस वर्ष परीक्षा सञ्चालनका लागि २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।

पछिल्लो तथ्यांकअनुसार यस वर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। परीक्षाका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए।परीक्षा केन्द्रहरूको सुरक्षाको जिम्मेवारी सम्बन्धित जिल्लाका सुरक्षा निकायले लिनेछन्।