काठमाडौं - पाकिस्तानको बलुचिस्तान क्षेत्रमा ४ सय ५० जना यात्रु चढेको जाफर एक्सप्रेस रेलको अपहरण गरिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले रेलमा गोलाबारी गर्दै नियन्त्रणमा लिएको पुष्टि भएको छ।

क्वेटाबाट पेशावर जाँदै गरेको रेलमा भएको आक्रमणमा रेल चालक घाइते भएको र रेलमा सवार ४ सयभन्दा बढी यात्रुहरू सँगै रहेको बीबीसीले  जनाइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार, क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले घटनास्थलमा नेटवर्क समस्या भएकाले रेल चालक दलसँग कुनै सम्पर्क गर्न नसकेको जानकारी दिएका छन्।

यस घटनामा हालसम्म प्राप्त जानकारीअनुसार, रेल चालक घाइते भएको र आक्रमणकारीहरूले हतियार प्रयोग गरेर रेल रोकिदिएका छन्। बीएलएले चेतावनी दिँदै भनेको छ कि यदि सैन्य कारबाही गरियो भने उनीहरूको नियन्त्रणमा रहेका सबै यात्रुहरूको हत्या गर्ने धम्की पनि दिएको छ।  

घटनास्थलमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको खबर छ। यो घटनाले बलुचिस्तानको सुरक्षा अवस्था र स्थानीय अधिकारीहरूको चुनौतीलाई पुनः उजागर गरेको छ।