काठमाडौं - हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।
जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।
सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ । यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।
प्यालेस्टाइनी प्रिजनर्स क्लब एड्भोकेसी ग्रुपका अनुसार बुधबार राति फिर्ता गरिएका चार बन्धकको अवशेषको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ ।
बिहीबार बिहान सयौं कैदीहरूलाई रिहा गरिएको गाजा र वेस्ट बैङ्कमा उपलब्ध एएफपीका सञ्चारकर्मीले जनाएका छन् । इजिप्टको राज्यसम्बद्ध अल–काहेरा न्यूजले इजरायली अधिकारीहरूले फिर्ता गर्नका लागि तोकिएकामध्ये ९७ जना गाजाको राफा सीमा पार गर्ने इजिप्टतर्फ आइपुगेको बताइएको छ। युद्धको स्थायी अन्त्यका लागि तय गरिएको सम्झौताको दोस्रो चरणका लागि वार्ता अझै सुरु हुन सकेको छैन । यसअघि हमासले चारै जना इजरायली शवलाई गोप्य रुपमा फिर्ता गरिने बताएको थियो ।
कफिन हस्तान्तरण गरिएको केही घण्टापछि गाजाबाट बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने पक्षमा वकालत गर्ने इजरायली समूहले बिहीबार हमासले फिर्ता गरेका चार शवको पहिचान ‘गहिरो दुःखका साथ’ पुष्टि गरेको छ ।
ओहाद याहलोमी, साची इदान, इट्जिक एल्गाराट र श्लोमो मन्सुरलाई अन्ततः इजरायलमा ल्याइएको र आवश्यक प्रक्रियापछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वासिङ्टनमा मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका छन् ।
दोस्रो चरणको वार्ताको बारेमा विटकोफको टिप्पणीबारे इजरायलले प्रतिक्रिया दिइसकेको छैन । लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् ।इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ ।


0 comment