काठमाडौं - भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गरेको छ ।

विश्वविद्यालयले अभिभावकहरूलाई अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च आफैँले बेहोर्ने उल्लेख गरेको छ। विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ ।

विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रूपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ । साथै विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन पनि आग्रह गरिएको छ ।

‘विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ, ‘विश्वविद्यालयमा फर्कनका लागि बस, रेल वा हवाई यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।’

विश्वविद्यालयमा हाल ६५ भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ ।  केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटक-पटक आह्वान गरिरहेको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको घटनाले नेपाली विद्यार्थीहरु त्रसित छन् । उनीहरु त्यो घटना सम्झन पनि चाहँदैनन् । घटनाको छानबिनको माग राख्दै गरिएको प्रदर्शनमा कलेज प्रशासनका केही कर्मचारी र सुरक्षा गार्डबाटै निर्घात कुटपिट भएको थियो । कलेज प्रशासनले नै उनीहरुलाई होस्टलबाट निकालेर पठाएको थियो । विद्यार्थीहरुले फर्कनका लागि पूर्ण सुरक्षाको माग गरेका छन् ।