काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक चरित्र विपरीत हुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका लागि आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशमा सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन नै प्रजातन्त्र दिवस भएको उल्लेख गरे। यो दिवस केवल औपचारिकतामा सीमित हुन नहुँने भन्दै ओलीले जनताको सहभागिता सुनिश्चित गरी भव्यताका साथ मनाउनु पर्नेमा जोड दिए।

'मुलुकका लागि यो ऐतिहासिक परिवर्तनको दिन हो। हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउने तर प्रजातन्त्र दिवसलाई स्वीकार नगर्ने प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,' उनले भने।'

प्रधानमन्त्री ओलीले निरंकुश शासन र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको यस ऐतिहासिक दिनलाई जनस्तरमा उत्सवका रूपमा मनाउन आह्वान गरे। 

बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार मूल समारोह समिति तथा विभिन्न उपसमितिहरू गठन गरी विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। मूल समारोह समितिको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने उपप्रधानमन्त्री, मन्त्रीहरू, काठमाडौँ महानगरका प्रमुख, नेपाल सरकारका उच्च अधिकारीहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरू एवं उपत्यकाका नगरप्रमुखहरू रहनेछन्।सातै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समारोह समिति गठन गरी दिवस मनाइनेछ।

फागुन ७ गते टुँडिखेलस्थित नेपाली सैनिक मञ्चमा मूल समारोह समितिको आयोजना भब्य कार्यक्रम हुने जनाएको छ। विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ।