No not again भन्ने नारा घन्काई संसदमा उल्लेख्य सिट संख्या ल्याउन सफल भएको घण्टी सत्तामा साझेदार भई भ्रष्ट र असक्षमहरुसँग मिलोमतो गरी परिवर्तनको आभाष आफ्ना मतदाताहरुलाई दिन नसकेको अवस्थाको फाइदा उठाउदै पूराना दलहरुले घण्टीलाई पनि आफुहरुजस्तै हो भन्ने सन्देश दिन सफल भएको नेपाली राजनीतिक परिदृश्यले दिनपर दिन स्पष्ट पारिरहेको छ । मौरीको सँगत गर्दा मह चाख्न पाउनु र झिँगाको संगत गर्दा रछानमा डुब्न पुग्नु स्वभाविकै हो तसर्थ घण्टीको जुन हविगत भइरहेको छ त्यो उनीहरुकै कारणले हो । 
शेर बहादुरले लौ हामीले त सत्ता सञ्चालन गर्न सकेनौ भनेर राजा ज्ञानेन्द्रलाई साँचोको झुत्ता बुझाउन गएकै कारण राजा आफै मन्त्रिपरिषदको अध्यक्ष बन्न पुगेका हुन भन्ने कुरा कसैले पनि नकार्न सक्तैन । पञ्चायती संविधानको खोट देखाएर वहुदलीय संविधान र अनि राजतन्त्रको खोट देखाएर देशलाई गणतन्त्रात्मक त बनाइयो तर खोइ त देश समृद्ध तिर गएको ? जनताको अवस्था हिजो भन्दा आज झन गएगुज्रेको हुनु तर चपले दरिद्र नेताहरु एकाएक संभ्रान्त बन्न पुगेको त नेपाली जनताले टुलुटुलु हेरेर बसिरहेकै छन । प्रश्न अहिले कतिञ्जेल हेरेर बस्ने भन्ने मात्रै हो । 
हिजो राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेको अवस्थामा एकाएक मन्त्रिपरिषदका उपाध्यक्ष हुन पुगेका तुल्सी गिरी र किर्तिनिधि विष्टहरु र मन्त्री हुन पुगेका विभिन्न अनुहारलाई देख्नेहरु राजा फेरि आएभने हाम्रै त दिन आउने हो भन्दै आफुहरुलाई खाँटीको राजावादी देखाई टोपल्नेहरु झुण्डझुण्डमा विभाजित भइरहेका छन । यिनीहरु न त एक ठाउँमा आउँछन न त चहान्छन नै, यहि कारण असक्षम र भ्रष्ट प्रमाणित हुँदाहँुदै पनि देश चलाइरहेका राजनीतिक दलहरु निर्भिक छन, उनीहरुलाई कसैको डर छैन न त उनीहरुलाई देश डुब्ने चिन्तानै । राष्ट्रलाई लुटने उनीहरुको दौड झन तिव्र हुदैछ । व्यवस्थापिका र न्यायपालिकामा आफनै झोलेहरु भर्ति भएकै छन भने कसको तागत उनीहरुलाई कारवाही गर्ने, जेल कोच्ने ? 
बंगालादेशमा जनताहरु यति संख्यामा सडकमा उर्लिए कि प्रहरीले नियन्त्रण गर्न सकेन, जनता दवाउन सेना उत्रिएन । प्रधानमन्त्रीको कुर्चि उचालेर सडकमा हुरर्याउन बंगालादेशी जनता सफल भए । अनि परिवर्तन भयो त्यहाँ तर विभाजित मनस्थितिमा रहेका नेपाली जनता र तिनीहरुको नेतृत्व गर्छु भन्नेहरु पनि एक हुन नसकेको कारणले गर्दा नै बंगालादेशी सफल उदाहरण नेपालमा काविल हुन सकेन ।  
राजावादीहरु राजा आउ देश वचाउ भन्छन् तर राजा आफै जनता आउ देश वचाउ भनिरहेका छन । के नेपालीहरुले आफ्नै बलमा गणतन्त्र ल्याएको हो र आफनै तागतमा फेरि राजतन्त्र ल्याउन ? विना विदेशी हस्तक्षेप के नेपालमा कहिले क्रान्ती सफल भएको उदाहरण छ र ? राजाले यो राम्रै बुझेका छन त्यहिकारण जनताको मन जित्न उनी मन्दिर धाउछन र विदेशीको मन जित्न कहिले भारत र कहिले भुटान पुगिरहेकै छन । भोली विदेशीको मन फक्र्यो भने रातारात राजा चहानेहरुको लाइनमा सबै भन्दा अगाडि केपी, प्रचण्ड र शेर बहादुरहरु नै देखिने छन किनकी उनीहरु शेख हशिना वाजेद जस्तो देश छोडेर भाग्नै भ्याउदैनन होला । कुनै वेला गरिएको ५ वँुदे भद्र सहमति सबैलाई जोगाउने अचुक अस्त्र सावित हुन सक्छ । हिजो राजा त्रिभुवनको गद्यीको पुन आरोहण त भयो तर अवस्थामा परिवर्तन त आएन त्यसै गरी राजा ज्ञानेन्द्र फर्कने संभावनालाई नकार्न सकिन्न त्यस अवस्थामा पनि जनताले खास परिवर्तनको आभाष पाउन गाहै्र पर्छ कि ? किनकी राजावादीले राजतन्त्र ल्याउने होइन गणतन्त्रवादीहरु आफैले आफु जोगिन आत्मसमर्पण गर्दै विदेशीको रिमोट कन्ट्रोलबाट चली राजा ल्याउने हो ।