काठमाडौं - नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताए । प्रेस चौतारी नेपालको लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको आइतबार उदघाटन गर्दै गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधयेक ल्याइएको प्रष्ट पारे ।
‘प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यताअनुसार चलिरहेको छ । तर अनलाइन मिडिया त्योअनुरुप चलेको छैन् । त्यसको नियमन आजको चुनौती हो, उनले भने । नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधयेक ल्याएका हौं ।’ विधयेक ल्याएपछि नेपाल पत्रकार महासंघ लगायतका संस्थाले विरोध गरिरहेको छ ।
उनले सरकारले ल्याएको अध्यादेशको विषयबस्तुप्रति कसैले पनि विरोध गर्न नसकेको बताए । सरकारले संसदबाट विधयेक पास गराएर अघि बढ्ने उनले बताए।


0 comment