प्रधानमन्त्री केपी ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।’
प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।
पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुरा यो सरकारको ‘मेन्यु’मा छैन
प्रधानमन्त्री ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुराहरू सरकारको ‘मेन्यु’ मा नरहेको स्पष्ट गरेका छन् ।
उनले कांग्रेस-एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थमा खेर फालेजस्तो लागिरहेको छ- सरकार ढल्छ, ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन । आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’
बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।


0 comment