काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

अध्यादेशबारे सत्तापक्षका सबै दलको एउटै धारणा बनाउने प्रयास स्वरुप प्रधानमन्त्रीले यो बैठक डाकेको एक नेताले बताए । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन प्रमुख सत्तारुढ दल काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेका छन्। सरकारलाई समर्थन गर्ने दलको पनि संसदमा एउटै स्वर होस् भन्ने पक्षमा प्रधानमन्त्री ओली छन् ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरु भने खुशी छैनन् । उनीहरु संसदको पहिलो बैठकमै अध्यादेशको विषयमा चर्को आवाज उठाउने तयारीमा छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाएका छन्।