काठमाडौं - सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराएका हुन् ।

उनले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताएका हुन् ।

 उनले वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानून परिमार्जन गर्नुपर्ने समेत बताए । उनले वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिएमात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने बताए ।

‘हामीले वैदेशिक रोजगारसम्बन्धी कानून परिमार्जन गर्न खोजिरहेका छौं उनले भने, वैदेशिक रोजगारमा जाने श्रमिकले ठगिएको अवस्थामा जिल्ला अदालतमा जाने स्थिति भयो भने केही सुधार हुन्छ ।  वैदेशिक रोजगार हामीले चाहेर पनि रोक्न सकिँदैन व्यवस्थित गर्नेकुरा गर्नुपर्छ । व्यवस्थित गर्नको लागि हामी लागि परेका छौं ।’

मन्त्री भण्डारीले सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको पनि बताए । उनले वैदेशिक रोजगमा जाँदा लाग्ने लागको टुंगो लगाउनसके उक्त कार्यक्रम कार्यान्वयन गर्न सकिने बताए।