काठमाडौं - हमासको नागरिक रक्षा एजेन्सीले १५ जनवरी २०२५ मा युद्धविराम घोषणा भएदेखि गाजामा मारिएकाहरूको संख्या १२२ पुगेको जनाएको छ ।
हमासका प्रवक्ता महमुद बसलले मारिनेमा ३३ बालबालिकासमेत छन् । यसबाहेक यही अवधिमा २७० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।
युद्धविराम लागु हुनुभन्दा अगाडि नै इजरायलले आक्रमण जारी राखेको हमासले आरोप लगाएको छ ।
बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय युनिसेफकी एक कार्यकर्ताले पनि बीबीसीलाई गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले आफू ब्युँझिएको प्रतिक्रिया दिइन् ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान जारी गरेको एक रिपोर्टमा दक्षिणी गाजाको अल-कारारामा शुक्रबार राति इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, बीबीसीले यो रिपोर्ट पुष्टि गर्न सकेको छैन ।
आजबाट हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता लागु हुॅदैछ । शनिबार बिहान इजरायलले युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि दुई देशबीचको युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा आफ्नो देश हमासविरुद्धको युद्ध पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।
नेतान्याहूले आजदेखि शुरु हुने भनिएको युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा पुनः आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताएका छन् । उहाँले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको बताएका छन्।
नेतन्याहूले हमास नेता याह्या सिनवारको हत्यासहित विगत १५ महिनामा इजरायलको सैन्य अभियानको सफलतालाई पनि उल्लेख गरेका छन् । हमास अहिले पूर्णरुपमा एक्लो भएको बताएका छन्।यो युद्धविराम स्थानीय समयअनुसार बिहान साॅढे ८ बजे देखि लागू हुनेछ ।
यसअघि नेतन्याहूले इजरायलले हमासले रिहा गर्ने बन्धकको सूची प्राप्त नभएसम्म सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए ।
आगामी केही हप्तामा १ हजार ८ सय ९० जना प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई रिहा गरिने भएको छ । सम्झौताअनुसार इजरायलले पनि गाजाबाट आफ्ना सेना फिर्ता बोलाउन थाल्नेछ ।
पहिलो बन्धकलाई कुन स्थानमा सुम्पिने भन्ने स्पष्ट भइसकेको छैन । इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार उत्तरी,मध्य र दक्षिणी गाजाको सीमा नजिक तीन वटा रिसेप्सन प्वाइन्ट तयार पारिएको छ ।
रिहा हुने पहिलो तीन जना महिला हुनेछन् ।


0 comment