काठमाडौं - सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु-महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै उनीहरुले यसका लागि छुट्टै कानुन चाहिने धारणा राखेका छन् । सबै कारोबारलाई अवैध करार गर्दा विशेषगरी मधेश प्रदेशका गाउँघरमा समाज नचल्ने, सामाजिक विकृति बढ्ने र भविष्यमा द्वन्द्व सिर्जना हुने मधेशबाट आएका विनय यादवले बताए ।
उनले चेक बाउन्सको कारोबार देशभर भए पनि कपाली तमसुकमा आधारित लेनदेन मधेसमा धेरै हुने भएकाले यसलाई व्यावहारिक रूपमा हेरिनुपर्ने बताए । सरकारले एकतर्फी निर्णय नगरी साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर कुरा सुन्नुपर्ने र सम्झौता सच्याउनुपर्ने उनीहरुको माग छ । सरकारले आफूहरूलाई वार्तामा नबोलाएसम्म काठमाडौं केन्द्रीत आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।


0 comment