काठमाडौं - राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको दुरुपयोग हुन सक्ने जोखिम रहेको भन्दै सांसदहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासान समितिको शुक्रबारको  बैठकमा सांसदहरुले राष्ट्रिय परिचयपत्र बनाउने कम्पनीमार्फत डाटा लिक हुने जोखिम रहेको बताएका हुन्।डिजिटलको दुनियाँमा व्यक्तिगत विवरणहरु चोरीका घटना बढेको भन्दै यसमा सरकार चनाखो हुनुपर्ने सांसदहरुको जोड थियो।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले तथ्यांकको सुरक्षा गर्न नसकिए नागरिकको जीवनमै खतरामा पर्ने भन्दै अहिलेसम्म के कस्ता  प्रबन्ध भएका छन् भन्ने बारे गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए । साथै बडूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण दुर्गम भेगका नागरिकले समस्या झेल्नुपरेकोले सरकारले तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की लगायतका अधिकांश सांसदहरुले राष्ट्रिय परिचयपत्र निर्माणको क्रममा  डाटा चोर्ने समस्या पनि हुन सक्ने जनाउँदै सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोडदिए ।