काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको बताए ।

उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले विश्वको भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद- विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी बन्न सक्ने हुन शुभकामना दिए ।

वि. सं २०८० र २०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन् । कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह (अर्थोपेडिक्स)आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे । 

विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण गरेका थिए।

प्रतिष्ठानका उपकुलपति प्रा‍‍. डा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।