काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

चितवनको माडी नगरपालिका १, वनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष दाहालले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेष रुपले सोच्नुपर्ने बताए । ‘बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु,’ उनले भने, ‘मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु ।’

उनले बोटे समुदायको प्रगति भएको पनि दाबी गरे । ‘तपाईंहरु जो नदीको तिरमा बसेर डुंगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईंहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ,’ उनले भने ।

चितवनको माडी नगरपालिका १, बडुवामा रहेको सोमेश्वर माविको स्वर्णजयन्तीको उद्घाटनका लागि माडी पुगेका दाहाललाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।

बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष दाहालले बोटे समुदायको सांस्कृतिक घर बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।