काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुबै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर प्राथमिकतामा राखेको बताएकी छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (सोमबार) को बैठकमा उनले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्त्व दिएको जनाइन् । नेपालसँग आवश्यक मात्रामा संवाद, सम्पर्क तथा अन्तर्क्रिया भइरहेको उनको भनाइ छ ।

‘विभिन्न द्विपक्षीय बैठक, भ्रमण आदानप्रदानका साथै सम्पर्क र संवाद भइरहेको छ,’ समिति बैठकमा उनले भनिन्, ‘नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ । यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ ।’ समितिमा पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धबारे समितिका सदस्यहरुले राखेको जिज्ञासामा परराष्ट्रमन्त्रीको यस्तो जवाफ आएको हो ।

बैठकमा मन्त्री राणाले अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता र त्यसक्रममा भएका विविध भेटघाट एवं कार्यक्रम, प्रधानमन्त्री ओलीको चीन भ्रमणका साथै आफ्नो भारत भ्रमण र ती भ्रमणमा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटका विषयमा समेत जानकारी गराइन्।

बिआरआइ सम्झौतामा ‘ऋण’ लेखिएको छैन

बैठकमा राखिएको एक जिज्ञासामा मन्त्री राणाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको पुनः स्पष्ट पारिन् ।  उनले भनिन्, ‘सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन । त्यसमा प्रयोग गरिएको ‘एड’शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन । तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ ।’

नेपालले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको स्पष्ट गर्दै उनले भनिन् ‘ऋण लिने कुरा त आवश्यकतामा आधारित हुन्छ । हामीलाई ऋण आवश्यक छैन, चाहिँदैन भने दिने पक्षले लिनैपर्छ भन्छ र ?’

विपीन रिहाइकाे पहल अधिकतम 

गएको वर्ष दिनदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा पहल गरेको समेत उनले बैठकमा जानकारी गराइन् । उनले केही दिनमात्र अघि आफूले नेपालका लागि इजरायल, इजिप्ट र कतारका राजदूतमार्फत ती देशसँग विपीनको रिहाइका लागि पहल गरिदिन पुनःआग्रह गरेको पनि जानकारी गराइन् ।

साथै हमाससँग बन्दी रिहाइका लागि मध्यस्थता गरिरहेको कतारका विदेशमन्त्रीसँग आफूले कुरा गर्ने प्रयास गरिरहेको र एक दुई दिनमा कुराकानी गरी उहाँसँग पनि यसै विषयमा अनुरोध गर्ने मन्त्री राणाको भनाइ थियो।

हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपीनको पनि रिहाइका लागि पहल गरिदिन आफूले विदेशी समुदाय र सरोकारवालाहरुसँग आग्रह गरिरहेको बताइन् ।

मन्त्री राणाले केही समय मात्र अघिसम्म विपीन जीवितै रहेको भन्ने सूचना प्राप्त भएकाले रिहाइको पहललाई आफूले सशक्त रुपमा अघि बढाएको बैठक समक्ष जानकारी गराइन् ।