काठमाडौं - गृहमन्त्री रमेश लेखकले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै आफ्नो भूमिको सुरक्षा गर्न संवेदनशील भएर लागेको बताए । 

गृहमन्त्री लेखकले भने, “कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ ।” 

उक्त क्षेत्रमा सीमा सम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्नपर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्र मार्फत सीमास्तम्भ राखिने भएकाले त्यसका निम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको जानकारी दिए । 

बैठकको प्रारम्भमा समिति सदस्यद्वय रघुजी पन्त र दिलेन्द्रप्रसाद बडूले शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।