काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेतामाथिको कारबाहीलाई अनुमोदन गरेको छ ।
एमाले सचिवालयको गत पुस १० गतेको बैठकले नेता भीमबहादुर रावललाई पार्टीबाटै निष्कासन गर्ने तथा विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए ।
‘राजनीतिक प्रतिवेदन प्रस्तुत भएपश्चात् १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो,’ गौतमले भने, ‘र ती निर्णयहरू अनुमोदन भइसकेका छन् । केन्द्रीय कमिटीमा मनोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।’


0 comment