काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे ।

केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनको भनाइ छ ।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको सिंहको भनाइ छ । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ उनले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उहाँले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए । सर्लाहीको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सिंह सहभागी भएको उनको सचिवालयले जनाएको छ  ।