काठमाडौं - सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको जनाएका छन् । उनले सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको पनि जनाए ।
मन्त्री गुरुङले सहकारीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।
उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्थासमेत अध्यादेशमा भएको जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए ।
‘सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ,’ दिगो पर्यटन सहकारी संस्थाले शनिबार काठमाडौंमा गरेको १४औं साधारणसभामा उनले भने, ‘बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ ।’


0 comment