नेपाल जवजव आन्दोलित हुन्छ तवतव दक्षिणको छिमेकीले आफ्नो शर्त तेर्साउने गर्दछ । रक्षा र परराष्ट्र मामला भारतलाई सुम्पेर भुटानी राजाको हैशियतमा राजा वीरेन्द्र र ज्ञानेन्द्रले रहन चाहेको भए न नेपालमा २०४६ बहुदलीय व्यवस्था र २०६३ मा गणतन्त्र नै आउथ्यो होला । पञ्चायती व्यवस्थाले नै निरन्तरता पाइरहन्थ्यो । प्रजातन्त्र, बहुलवाद र गणतन्त्र भन्दै नेपाली जनतालाई समृद्धिको ललिपप चुसाएर राजनीतिक दलका नेता र कार्यकत्र्ताहरुले जसरी देशलाई लुटेर कंगाल पारे तब बरु राजा नै ठीक रहेछन् भन्नेमा जनता आइपुगेका छन् । यति खेर प्रश्न उठेको छ के राजा पनि जनता जस्तै तयार छन् त ? छ भने राजसंस्थाको पुनरस्थापना कसरी हुन्छ ? के नेपाली जनताको बलमा मात्रै राजसंस्थाको पुनरआगमन होला त ? गद्यी छोडेर हिडेका राजा त्रिभुवनलाई पुन गद्यी दिलाउन भारतकै कसरत बढी थियो । अब पनि दक्षिणकै कसरतमा हुने हो त ? त्यसो भयो भने राजा त्रिभुवनको पालामा जस्तै राजाका सल्लाहकार भारतीय हुने होला, नेपालको मन्त्रीपरिषद्मा भारतीय उच्च आयुक्त (राजदुत) को अनिवार्य उपस्थिति हुनु पर्ने होला ?
हुन त एक प्रमुख जिल्ला अधिकारीको सरुवामा समेत भारतको चासो रहने र सोझै भन्दा नेपालको माइक्रो म्यानेजमेन्ट भारतबाट हुने गर्दछ भनिन्छ । पुरानो दल कांग्रेसदेखि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी समेत नेपाल भारतकै प्रभाव क्षेत्र (मुन्रो सिद्धान्त) भित्र रहनु पर्दछ भन्छन् । माओवादी जनयद्ध त झन् भारतबाट हुर्काइएको रहेछ भनेर कालान्तर स्पष्टै भयो ।
नेपालमा भारत कम्फर्ट सरकार हुनु पर्छ भनेर प्रचण्डले त सिधै भनेका छन् । अब राजामात्रै किन भारत विरोधी भएर सिंहासन बाहिर बस्ने ? आइपिएस र एसपिपिमा हस्ताक्षर ठोकी एमसिसिको ५६ अर्बको भिक्षा स्वीकारे पश्चात् अमेरिका, बेलायत लगायत सिंगै यूरोप, जापान, दक्षिण कोरिया अनि अष्ट्रेलिया भारतको पक्षमा उभिएको त राजा ज्ञानेन्द्रले राम्रै बुझेका होलान् ।
नेपाल र भुटान कुनै स्वतन्त्र देश होइन भारतकै अंग हो भन्ने ट्रम्प पुन अमेरिकाको राष्ट्रपति बनेका छन् । राजा ज्ञानेन्द्र उनी आफै पनि बारम्बार योगी आदित्यनाथको पाहुना हुन रुचाउछन् । केहि महिना अघि भूटानमा राजकीय सम्मान प्राप्त गरेको राजा ज्ञानेन्द्रको अवस्था छ अहिले । यसमा भुटानको परराष्ट्र मामला सम्हालेको भारत अवश्यै अनभिज्ञ थिएन होला । त्यस्तै सम्मान अब भारतले दिने हो भने १२ बुदेमा हस्ताक्षर गर्ने भारतका नेपाली दासहरु त लर्याक लुरुक परिनै हाल्लान् नी । अनि हिन्दु अधिराज्य पुनरस्थापित हुन के बेर ? मन्त्रिपरिषद्को अध्यक्ष भएर चीनलाई सार्कमा ल्याउनुपर्छ भन्दै लाजिम्पाटमा रहेको दलाइ लामाको सम्पर्क कार्यालय बन्द गराएकै कारण नेपालका सबैदलहरुलाई दिल्ली बोलाएर भारतले राजतन्त्र फ्याक्ने काम गरेको स्वयम् राजा ज्ञानेन्द्रले भोगेकै हुन् ।
मदन भण्डारी हत्या भारतको निर्देशनमा कांग्रेसले गरेको भनेर केपीले बोलेको कुरा भाइरल भइनै रहेको छ । राजा बीरेन्द्रको हत्या आफैले गराएर दोष जति ज्ञानेन्दको थाप्लोमा हाल्ने काम पनि भारतले नै गरेको रहेछ भनेर समयले नै पुष्टि गरिसकेको छ । यी सबै कुराहरुले के पुष्टि गर्छ भने नेपालमा खांटी राष्ट्रवादी बाहेक अन्य सबै भारतका दास हुन् । पञ्चायत व्यवस्था लागू गर्नु, अनि शान्तीक्षेत्रको प्रस्ताव अगाडि सारेर भारतीय दाशत्वको विरुद्धमा उत्रदा पञ्चायत ब्यवस्था र राजतन्त्र दुबै ढल्नुको तथ्य अब आएर राम्रै पुष्टि भएको छ । राजा ज्ञानेन्द्रले पनि यसबाट राम्रै पाठ सिकेको हुनुपर्छ । यहि कारण भुटानकै हैसियतमै बस्दा पनि नेपालको राजामात्रै होइन हिन्दु सम्राट नै बन्न पाइने भन्ने आकांक्षा राजा ज्ञानेन्द्रमा हुनु अस्वभाविक हुदैन होला । त्यसो हो भने अब राजतन्त्र पुनरवहाली हुन धेरै कुर्न नपर्ला ।
भारतमा भारतीय राष्ट्रवाद भन्दा हिन्दु राष्ट्रवाद हावि भएकै कारण भारत धर्मनिरपेक्ष (सेक्युलर) रहनुपर्छ भन्ने नेहरु परिवारको भारतीय कांग्रेसले सत्ताबाट हात धुनु परेको अहिलेको भारतीय राजनीतिको यथार्थ हो । अर्को तर्फ हिन्द प्रशान्त रणनीतिको साझेदार बनेको भारत विश्वको पाँचौं आर्थिक शक्ति बनिरहँदा उसले नयाँ राजनीतिक नक्सा जारी गरी अखण्ड भारत बनाउने सपना पनि बोकिरहेको छ । त्यो भनेको अंग्रेजकालिन भारत नै हो । यस्तो शक्तिशाली भारतको विरुद्धमा रहेर गद्दी कुनै हालतमा प्राप्त गर्न सकिदैन भन्ने सोच राजा ज्ञानेन्द्रमा हुनु कुनै आश्चर्यको कुरा नहुन सक्छ । झन् त्यसमाथि रुसमा भएको पछिल्लो व्रिक्स सम्मेलन पश्चात् भारत र चीनले आफ्नो पुरानो शत्रुता विर्सेर आफ्ना सबै सीमा विवादहरु सल्टाउन दुबै पक्षबाट प्रतिनिधी नियुक्त गरी कार्यारम्भ गरिसकेको अवस्था छ अहिले । यस्तो अवस्थामा चाइना कार्ड खेलेर नेपालको सिहांसन प्राप्त गर्न सकिदैन भन्ने निक्र्योलमा राजा ज्ञानेन्द्र पुगीसकेकै रहेछन् भने पनि अन्यथा मान्न सकिदैन ।
तर तथ्यहरु यस्ता पनि छन् नी । भारतमा हिन्दु राष्ट्रवाद हावी हुँदा त्यहाँका मुस्लिम र क्रिश्चियनहरु अब आफुहरुलाई असुरक्षित ठान्न थालीसकेका छन् । यसले भारत विखण्डनको बीज रोपी सकेको छ । अंग्रेजकालीन अखण्ड भारत, भारत, पाकिस्तान र बाङ्लादेश गरी तिन टुक्रामा विभाजन भइसकेका तथ्य सबै सामु छ । भुटान अब आफ्नो परराष्ट्र र रक्षा आफैले चलाउन पाउनुपर्छ भन्दै उत्तरतर्फ हेर्न शुरु गरिसकेको छ । यसैको कारण दोक्लाम क्षेत्रमा चीनको सामरिक उपस्थिती झन् झन् बलियो बन्दै गइरहेको अवस्था छ अहिले । काश्मिरको कारण पटक–पटक भारत पाकिस्तान युद्ध भएको सबैले देखेकै हो । अहिले भारतीय पूर्वोत्तर क्षेत्रमा स्वतन्त्रताको लहर चली अरुणाञ्चल प्रदेश, मेघालय, आसाम, नागालैण्ड, त्रिपुरा, मिजोरोम र मणीपुरहरुले भारतबाट स्वतन्त्र हुने सपनामात्रै बोकेका छैनन्, मणिपुरको सरकार त बेलायत गठन भई कार्यारम्भ समेत भइसकेको छ । उता स्वतन्त्र खालिस्तानको आन्दोलन पुनः चर्किदै गर्दा भारत र क्यानडाको नराम्ररी दश्मनी बढिरहेको छ । स्वतन्त्र खालिस्तानको लागि वित्तिय व्यवस्था जुटाउने महाअभिया नै चलिरहेको छ, अमेरिका र क्यानडामा अहिले ।
नेपालमा यस पंक्तिका लेखकको नेतृत्वमा शुरुभएको विशाल नेपालको आन्दोलनले टिष्टा कांगडा प्रदेशका नेपालीहरुको मन जित्न सफल मात्रै भएको छैन । वालेनले आफ्नो कार्यकक्षमा विशाल नेपालको नक्शा झुण्डाएपछि यसको विरुद्धमा बोल्ने सहास भारतीय कठपुतलीको रुपमा रहेका नेपाली राजनीतिक दल र तिनीहरुका नेता कार्यकत्र्ताहरुले गर्नसकेका छैनन् । त्यतिमात्रै होइन नेपाली सेना विशाल नेपालको पक्षमा नरहे विशाल नेपाल मुक्तिसेना विकल्प दिन तयार भएर बसेको छ अहिले । साच्चै भन्नुपर्दा दक्षिण एसियामा विशाल नेपाल बन्ने कि अखण्ड भारत बन्ने प्रतिष्पर्धा चलिरहेको छ । अखण्ड भारत बन्दा चीन टुक्रेर तिब्बत स्वतन्त्र देश बन्ने निश्चित छ भने वफर स्टेटको रुपमा विशाल नेपाल बन्दा भारत नौ टुक्रामा विभाजन हुने सम्भावना पनि उत्तिकै बलियो छ । यो कुरा पनि राजा ज्ञानेन्द्रले राम्रै बुझेको हुनु पर्छ । अब कस्तो राजा हुने हो त उसो भए भन्ने कुरा उनैले जानुन् ।



1 comment
पदम के सी सोमबार, २३ पुस, २०८१
सान्दर्भिक र सहि बिश्लेषण