काठमाडौं - गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/ जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज शुभारम्भ गर्दै उहाँले सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

चन्द्रागिरि  नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/ जिआइएस प्रणालीमा आधारित  ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि संघीय सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यस कार्यलाई जिपिएस/ जिआइएस प्रणालीमा आधारित  ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरणका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएस/ जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।