काठमाडौँ — त्रिभुवन विश्व विद्यालयको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतार्नु पर्ने बताएका छन । ओलीले भने सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्नु पर्दछ । 
त्रिभुवन विश्वविद्यालयद्वारा आज दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोह सम्पन्न भएको थियो । विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे ।  “आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले भने– “हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कुलपति ओलीबाट विभिन्न सङ्काय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए ।  समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा सङ्घर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए । 

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एक आपसमा गाभ्ने नीति लिइएको बताएका थिए ।