काठमाडौं - सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भन्नुभयो, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उहाँले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले हालको व्यवस्थाअनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुई वटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा बैठक गराउन आफूले ध्यानाकृष्ट गराएको उल्लेख गर्नुभयो ।

विधेयक समिति प्रभावकारी रुपमा चलायमान गराउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनका समयमा दिनको अन्तिम समयमा अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउने गरेकोसमेत उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले आफूलाई दिएको अधिकार प्रयोग गर्नेतर्फ पनि निकै कठिनाइ भएको दुःखेसो पोख्नुभयो ।