काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विद्यमान जातिय छुवाछुतलाई समाज विकासको ऐजेरु भनेका छन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । 
ओलीले भने राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ । ’प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य हुन यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए । असमानता, अन्याय, छुवाछूत र दुःख भोगेर कोही सुख हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताएका हुन ।


‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन।’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने कुरामा जोड दिएका थिए । सबै मिलेर समाजलाई सभ्य बनाउनु पर्ने र आजको सताब्दीमा पनि जातिय विभेदको कुरा गर्नु पुरातन सोच हो भनेका थिए ।