काठमाडौं - उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवलपरासी (बर्दघाट- सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको छ ।
नवलपुरको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरले आज आयोजना गरेको नमूना सदरमुकाम निर्माणसम्बन्धी अन्तरक्रियामा मन्त्री सिंहले सदरमुकाम निर्माणका लागि बजेटको व्यवस्था भए पनि रूख कटानको विषयले गर्दा काम अघि बढ्न नसकेको भए पनि यसको गाँठो फुकाउन आफूले पहल गर्ने बताउनुभयो ।
रूख कटानको विषय र भूमिको विषयमा सम्बन्धित मन्त्रीसँग समन्वय गरी सदरमुकाम निर्माणमा देखिएको प्राविधिक समस्या समाधानमा चाँडै पहल गर्ने उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
देश केन्द्रीकृत एकात्मक व्यवस्थाबाट सङ्घीयतामा गएपछि बन्न लागेको नमूना सदरमुकाम सबैले हेर्न चाहेकाले यसलाई कार्यान्वयनका लागि विधि, प्रक्रिया पूरा गर्न आफू लागिरहेको र थप पहल गर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री जिसी श्रेष्ठले नमूना सदरमुकाम निर्माण नहुँदा सेवाग्राहीहरूलाई सेवा लिन असहज भएको बताउनुभयो ।
छरिएर विभिन्न स्थानमा भाडामा रहेका कार्यालयका कारण सेवाग्राहीलाई सहज सेवा लिन असुविधा भएको भन्दै चाँडै निर्माणको काम थाल्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रुचालले आफूहरूले पटक पटक सदरमुकामको काम अघि बढाउन केन्द्र सरकारसँग समन्वय गरिरहेको भए पनि सोहीअनुसार गति लिन नसकेको बताउनुभयो ।
राज्य पुनः संंरचनापछि नवलपुरको सदरमुकाम बनाउने विषय यो जिल्लाको मात्र नभएर देशकै दायित्व भएको जिसस नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।
नवलपुरको कावासोतीमा रहेको एक सय ८४ बिघा जग्गामा सङ्घ, प्रदेश र जिल्लाका आवश्यक कार्यालयहरू निर्माण गर्नेगरी नमूना सदरमुकाम निर्माणको योजनाअनुरूप वि. सं २०७६ वैशाख ७ नमूना सदरमुकाम निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।


0 comment