काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आज आयोजित १५ औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको उहाँले बताउनुभयो । खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताउनुभयो ।
दुग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उहाँले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकार स्तरमा भएका प्रयासको सरहाना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताउनुभयो ।
उहाँले उद्योगी- व्यवसायी बैङ्कको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उहाँले जोड दिनुभयो ।


0 comment