काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा  उहाँले सो जानकारी दिनुभएको हो ।

बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको उहाले बताउनुभयो ।  यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ उहाको भनाई छ ।  

एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले  चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो “यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ ।”

मन्त्री डा राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको र यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा हुने उच्चस्तरीय भ्रमणहरुको आदानप्रदानले महत्वपूर्ण योगदान पुर्याउँदै आएका चर्चा गर्दै आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता हो भन्नुभयो ।

मन्त्री डा राणाले यस भ्रमणका क्रममा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग गर्नुभएको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिनुभयो । त्यस वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उहाँको भनाई थियो ।

समकक्षी वाङसँग हिजो हार्दिक र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र दुबै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

सो वार्तामा आफूले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्वि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ विदेशमन्त्री वाङ यीले पनि उक्त धारणाप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिनुभएको मन्त्री डा. राणाले बताउनुभयो ।

सो वार्ताका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारहरूको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा पनि कुरा भएको उहाँले बताउनुभयो ।

वार्तामा दुई देशबीचको विद्यमान सुमधुर राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षबीच व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्क लगायतका विषयमा छलफल भएको पनि मन्त्री डा राणाले बताउनुभयो ।

साथै मन्त्री डा राणाले उक्त द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षबाट भएका उच्चस्तरीय भ्रमणहरुमा गरिएका सम्झौता तथा समझदारीहरूलाई पनि तदारुकताका साथ कार्यान्वयनमा लैजाने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

मन्त्री डा राणाले यस भ्रमणले आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रही आएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको बताउनुभयो ।

मन्त्री डा राणा चीनको सिचुआन प्रान्तस्थित छन्दुबाट आज स्वदेश फर्कनुभएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ पुग्नुभएका उहाँले हिजो अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।