काठमाडौं - नेकपा एमालेले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौंमा जागरणसभा गर्ने भएको छ ।
एमाले सम्बद्ध काठमाडौं उपत्यकास्तरीय पार्टी कमिटीहरूको संयुक्त आयोजनामा हुन गइरहेको जागरणसभा सहित समसामयिक राजनीतिक विषयमा सम्पादकहरूसँगको अन्तर सम्वादमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई सो कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
सम्पादकहरूको जिज्ञासामा नेता ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताउनुभयो ।
नेता ज्ञवालीले भन्नुभयो पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन सबैसँग अपिल गर्दछु ।
उपमहासचिव ज्ञवालीले नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको यस अवधिमा देखिएका कमी कमजोरीलाई शुक्ष्म रूपमा समीक्षा गरी सरोकारवाला भएका सबैको उचित राय सुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।
एमाले बागमती प्रदेश इन्चार्ज तथा जागरण सभा कार्यक्रमका संयोजक डा राजन भट्टराईले उपत्यका स्तरीय एमाले सम्बद्ध सङ्घ,सङ्गठनद्वारा आयोजना हुने जागरण सभामा एक लाख मानिसको उपस्थिति हुने अपेक्षा गरिएको बताउनभयो ।
नेता डा भट्टराईले काठमाडौँ भद्रकालीबाट जुलुस सुरु भई रत्नपार्क हुँदै दिउँसो दरबारमार्गमा हुने सो जागरण सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सो अवसरमा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले लोकतन्त्र,विकास र सुशासनको पक्षमा जनतालाई सु सूचित गराउने उद्देश्यका साथ आमजनताको सहभागितामा शान्तिपूर्ण ढङ्गबाट जागरण सभा सम्पन्न गरिने बताउनुभयो ।
भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।


0 comment