काठमाडौं - सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका मोदी गाउँपालिका- २ देउपुर, फलेवास नगरपालिका- १० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका- ३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।
पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछी किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताउनुभयो ।
देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाँईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसवर्ष ५० प्रतिशत बढी सुन्तलाको बोटमा प्रकोप फैलिसकेको छ ।
गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाईले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताउनुभयो ।
पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी पुगेका छैनन् ।
कृषि ज्ञान केन्द्रले देउपुर लगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो ।
0 comment