काठमाडौं - हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको जनाइएको छ ।
जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताउनुभयो ।
जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका उहाँले बताउनुभयो । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ ।
खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उहाँले बताउनुभयो ।
बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा छ, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो ।
थाहा नगरपालिकामा दुई जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक- एक जना गरी छ जना घाइते भएका थिए ।
0 comment