काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास- निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ । 

नेपाली काँग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो । 

देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । 

वि.सं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएको बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली काँग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो ।