काठमाडौं - जापानको टोकियोस्थित योकोहा सहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु विश्वकप २०२४ मा सहभागी उसु खेलाडी टोलीलाई बिदाइ गरिएको छ ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।
सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदक जिताउन उसु महासङ्घको महत्वपूर्ण योगदान रहेको भन्दै महासङ्घलाई धन्यवाद दिनुभयो ।
विश्वकपमा खेलाडी दीपक हमाल, विजय सिञ्जाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजीव तामाङ सहभागी हुनेछन् ।
नेपाली उसु टोलीको नेतृत्व महासङ्घका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
विश्वकपमा सहभागिता जनाउन जान लागेका खेलाडी २०२४ अप्रिलमा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएका हुन् ।
साथै एसियाली राष्ट्रमध्ये यस प्रतियोगितामा नेपालले मात्रै सहभागी हुने अवसर प्राप्त गरेको महासङ्घका महासचिव लामाले जानकारी दिनुभयो ।
0 comment