काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । 

केन्द्रीय बैङ्कले आज एक सूचना मार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैङ्क, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैङ्कले जनाएको छ ।

बैङ्कले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । दिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैङ्क जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ ।