काठमाडौं - भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवनबाट तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पताल भर्ना गरिएको छ । 

राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताउनुभयो ।

केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको सङ्ख्या ३६ पुगेको दाबी गरेका छन् । 

बिहारमा अप्रिल २०१६ देखि मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा बिक्री हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।