काठमाडौं - जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार  गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिनुभयो । जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ ।

प्रमुख साहका अनुसार तिला गाउँपालिका- ६ घोडेमा विद्युत्को लाइन विस्तार गरिएको छ । यस्तै तातोपानी गाउँपालिका- ७ सुर्कीमा पनि विद्युत्को लाइन जोडिएको छ ।

एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो । पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्‍याउने योजना छ ।

यस्तै, सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ । गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।