काठमाडौं - प्रमुख तीन दलहरूबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।

बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी गठन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल सहभागी हुनुहुन्थ्यो ।