काठमाडौं । 
सामान्य विवाद हुँदा झापामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले बताए अनुसार, अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा ३७ वर्षीया श्रीमती मुना चौहानको हत्या गरेको आरोपमा उनका श्रीमान् वीर बहादुर चौहानलाई प्रहरी पक्राउ गरेको छ ।
सोमबार करिब ४ बजेतिर दई जना बीचमा विवाद हुँदा श्रीमानले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए । सोही क्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि श्रीमान वीरबहादुर त्यहाँबाट फरार भएका थिए ।

वीरबहादुर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको कुरा डीएसपी चन्दले बताएका छन । खोजी गर्ने क्रममा वीर बहादुरलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको डीएसपी चन्दले बताएका छन । सामान्य विवादमा व्यक्तीको हत्या नै गर्ने प्रवृत्ति पछिल्लो समय बढिरहेको छ ।