काठमाडौं - राष्ट्रिय मातृभूमि पार्टी र निर्विकल्प पार्टीबीच एकता भएको छ । 

असोज २१ गते राष्ट्रिय मातृभूमि पार्टीको कार्यालय आमाघरको सभाकक्षमा आयोजित एक समारोहबीच दुई पार्टी एक भएको घोषणा गरिएको थियो । राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डे र निर्विकल्प पार्टीका संयोजक क्याप्टेन के.वी. लिम्बुले उठेर हात मिलाएर एकता घोषणा गर्दा जोडदार तालिकासाथ एकताको अनुमोदन गरिएको थियो ।

राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता तथा पूर्व डिआइजी रमेश खरेल, विशाल नेपाल महाअभियानका संयोजक डा. सुरेन्द्र ढकाल र भान्सा औषधालयका अभियन्ता रोमलाल गिरीले अतिथिको आसनबाट शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पूर्ण राष्ट्रवादी शाक्तिहरु एक नभएसम्म दशकौंदेखि जरा गाडेर बसेको भ्रष्ट सत्तालाई पराजित गर्न नसकिने भन्दै एकताको स्वागत गर्नु भएको थियो । 

अध्यक्ष पाण्डेले निर्विकल्प पार्टीका संयोजक तथा अन्य पदाधिकारीहरुलाई हार्दिकता पूर्वक स्वागत गर्दै राष्ट्रिय मातृभूमि पार्टी सम्पूर्ण देशभक्तहरुको पार्टी भएकाले सबै एकजुट भएर देश जोगाउन अघि बढ्नु पर्ने बेला आएको बताउनु भयो । उहाँले क्याप्टेन के.वी. लिम्बू जस्तो अनुभवी, इमान्दार र राष्ट्रवादी व्यक्तित्वले नेतृत्व गरेको पार्टीसँग एकता गर्न पाउँदा राष्ट्रिय मातृभूमि पार्टीले नयाँ उचाई लिएको बताउनु भयो ।

निर्विकल्प पार्टीका संयोजक तथा राष्ट्रिय मातृभूमि पार्टीमा वरिष्ठ नेताको नयाँ भूमिकामा रहनु भएका क्याप्टन लिम्बूले आफु जहिल्यै एकताको पक्षमा रहेको बताउँदै नयाँ आन्दोलनको तयारीको लागि ठोस एजेण्डासहित सम्पूर्ण राष्ट्रवादीहरु एकै ठाउँ उभिन आवश्यक रहेको बताउनु भयो ।

राजनीतिको ठोस एजेण्डा विना केवल भीडतन्त्र मात्र हुने भएकोले बर्षौेदखि देश लुटिरहेको वर्तमान राज्य सत्तालाई पल्टाउने गरी चुनौति पेश गर्न परिवर्तनको लागि चाहिने राजनीतिक औजार गतिलो हुनु पर्नेमा उहाँले जोड दिनु भयो । संसदीय प्रणाली असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती र सुशासन स्थापनाको लागि भ्रष्टाचारीलाई फाँसी दिनु पर्ने एजेन्डा स्थापित गरिनु पर्नेमा उहाँले जोड दिनु भयो । यसैगरी नेपालमा परम्परादेखि चल्दै आएको सनातनी धर्म-संस्कृतिको मूल्य मान्यता स्थापित गराउन पनि पार्टी लाग्नुपर्ने उहाँले बताउनु भयो । 

पार्टीका महासचिव गोविन्द गिरीले एकताको प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै सबैलाई शुभकामना दिनु भयो । उहाँले पार्टीले आन्दोलन र निर्वाचन दुबैलाई उपयोग गर्दै अघि बढ्नु पर्नेमा जोड दिँदै पार्टी अब दशैँपछी सडक आन्दोलनमा उत्रने बताउनु भयो । उहाँले एकताको लागि जारी गरिएको प्रेस विज्ञप्ति वाचन गर्नु भएको थियो । 

कार्यक्रममा निर्विकल्प पार्टीका प्रवक्ता निल लामा र सहप्रवक्ता लोकनाथ चुडालले पनि मन्यव्य राख्दै आफुहरु एकताप्रति प्रतिवद्ध रहेको र पार्टीलार्ई मजवुत पार्न जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनु भयो । युवा मातृभूमि शाक्ति ‘युमाश’ का संयोजक दिल बहादुर वि.क. (सविन) ले युवाहरु मुलुकभर संगठित हुने क्रम जारी रहेको बताउनु भयो । उपमहासचिव लक्ष्मी दत्त भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको संचालन सचिव तेजेन्द्र प्रसाईले गर्नु भएको थियो । 

राष्ट्रिय मातृभूमि पार्टीले अवलम्बन गरेका सिद्धान्तहरु राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादलाई नै अघी बढाउने गरी एकता भएको हो । एकतापछि पार्टीका नाम,  झण्डा र निर्वाचन निन्ह राष्ट्रिय मातृभूमि पार्टीकै कायम रहने भएको छ ।