डा .शास्त्रदत्त पन्त

नेपालको सञ्चार नेपालको समस्त विकास निमार्णको माध्यम पनि हो । सञ्चारको माध्यम भन्नाले हामीले रेडियो, टेलिभिजन, मुद्रण खबर कागजहरु, नाटक, चित्रकला र चलचित्रहरुलाई समेत बुझनुपर्ने हुन्छ । यी सबै माध्यमले जनता बिच ठुलो प्रभाव पार्ने गर्दछ । त्यो प्रभाव सकरात्मक भयो भने देशलाई अग्रिमतामा लैजान्छ तर त्यो नकरात्मक भयो भने परिणाम पनि नकरात्मक नै निस्कन्छ । त्यसैकारण सञ्चारलाई सरकारको चौथो अंग भनिएको हो । 

देशका जनताको जीवनस्तर उठाउन, जनताको आवश्यकता परिपूर्ति गर्न, देशका हरेक श्रोतसाधनलाई सदुपयोग गर्न राष्ट्र विकासका लागी योगदान दिने आदि काम राज्यको दायित्व भित्र पर्दछ । त्यस्तै दायित्व सञ्चारको पनि हुने भएकोले यसलाई सञ्चारको चौथो अंग भनिएको हो । तर के नेपालका सञ्चार माध्यमहरुले देशको हित हुने काम गरेका छन् त ? अहिले यो प्रश्न जटिल भएर खडा भएको छ । 

सञ्चार भनेको यस मानेमा हुलाकी हो । राज्यले गरेको कामुहरुको टिकाटिप्पणी गर्ने अथवा त्यसलाई आम जनता समक्ष पुर्‍याउने र जनताले के भनेका छन्, त्यो कुरा सरकारसम्म पुर्‍याउने अनि जनताको विचारलाई सार्वजानिक महत्त्वको विषय ठान्दै देशको वास्तविकतालाई अगाडी बढाउने विषयमा दत्तचित्त भएर सञ्चार माध्यमले काम गर्‍यो भने मात्र वास्तविक अर्थमा त्यसले चौथो अंगको रुपमा काम गरेको ठहर्छ । तर नेपालको वर्तमान अवस्थालाई हेर्न हो भने सञ्चार माध्यमले आफ्नो दायित्व पूरा गरेको पाईंदैन । अहिलेको परिप्रेक्षमा सञ्चार माध्यमले व्यक्तिको व्यक्तित्व, दलको राजनितिकत्व, व्यापारीको उत्पादकत्वलाई मात्र ध्यान दिएको देखिन्छ । त्यतिमात्र हैन बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई सञ्चार माध्यमले चरितार्थ गरेको भान भइरहेको छ । सञ्चारको यस्तो बोलबाला तथा हैकम रहेको बेला सञ्चारगृह हाँक्ने वा भनौँ कतिपय सञ्चालकहरु योग्यता नभएकै कारण पतन र उत्थान गराउन मै तल्लीन भएकाले यतिखेर नेपाली भाषा, सरकारी कामकाजको भाषा अशुद लेखाईको मारमा परेका छ ।

उता अंग्रेजी लेखाई भने त्रुटीरहित शुद रुपमा प्रयोग भएको पाईन्छ । यसले के पुष्टि गर्दछ भने नेपाली असक्षम होइनन्, उनीहरुको भावना कलोषित हो । राष्ट्रियताप्रति संवेदनशाील नहुनु हो । अरुको उक्साइमा उक्सिने, हौसिने र क्षणिक प्रलोभनमा आकर्षित हुने भएका कारण यस्तो भएको हो । आज सञ्चार माध्यमको संख्या निरन्तर बढिरहेको छ । त्यसको तुलनामा सञ्चारको गुणस्तर भने घट्दो छ । तिनको भाषा एवं लेखनशैलीमा कुनै निखर छैन । चाहे त्यो जतिसुकै विषयगत डिग्राी बोक्ने मानिस किन नहोस्, उसको आचरण, बोली, भाषा आदिमा त्यो किसिमको गम्भीर्यता पाईएको छैन । साँच्चै भन्ने हो भने नेपालको आर्थिक राजनितिक स्वरुप परोनिर्दैशितामा काम गर्ने गरेको कारण नेपालका हरेक सञ्चार माध्यमहरु विदेशी सञ्चार माध्यमको लगानीमा सञ्चालित छन् । तिनीहरुले आफनै देशको उदेश्य अनुरुप काम गरिरहेका छन् । 

नेपालका कुनैपनि सञ्चार माध्ययम, कुनै पनि दलमा आवद्ध नभएका पत्रपत्रिका वा विद्युतीय माध्यमको अवस्था लगभग वेवारिसे बालकको जस्तै छ । साना पत्रिकाहरु पनि हातेमालो गरेर राष्ट्रको महत्त्वपूर्ण माध्यम बन्न रुचाउँदैनन् । समाचार संकलन, विज्ञापन संकलन र छापाखाना सञ्चालन गर्न पनि वाह्य तत्वको प्रभावका कारण आफ्नो दायित्वबाट च्युत भैरहेका छन् । यो सामान्य नेपाली नियत हो । यो अवस्था रहिरह्यो भने अर्थात पत्रकारहरु यस्तै कुरामा अल्झिए भने आमजनताको चाहाना कसले पुरा गरिदिने ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सम्मुन्नति सोच्नेहरुका लागी यो अहम प्रशन हो । 

एकजना पत्रकारले गर्नुपर्ने महत्त्वपूर्ण कुराहरु छन् । पत्रकारको भाषा गलत भयो भने देशभरी गलत सन्देश प्रसार हुन्छ र देशमा सनसनी मच्चिन्छ । यो कार्यलाई रोक्न सक्ने अर्थात सम्पादन गर्न सक्ने क्षमताको अहम भूमिका हुन्छ । हामीले नेपालको सञ्चार माध्यमलाई सरसर्ति हेर्‍यौँ भने सञ्चार माध्यमले धेरै गलत समाचार प्रवाह गर्ने गरेका छन् । एक असल सञ्चारकर्मी हुनका लागी आफनो विषय लगायत राष्ट्रिय र अन्तर्राष्ट्रीय राजनितिको गहन अध्ययन हुनु पर्दछ । दे्शका लागी सम्पूर्ण गतिविधिको यथार्थ ज्ञान भएको हुनुपर्दछ । त्यतिले मात्र पुग्दैन । आफ्नो समाचारले संष्कार ,संस्कृति , राजनिति र सामाजिक अवस्थामा के कसरी प्रभाप पार्छ ,र सकरात्मक नकरात्मक कति प्रभाव पार्छ भन्ने विश्लेषण गर्ने क्षमता हुनुपर्दछ । यी र यस्ता सबै किसिमका क्षमता नभएका व्यक्तिले सञ्चार माध्यमलाई अगाडी बढाउने जिम्मेवारी पायो भने त्यसबाट नकरात्मक प्रभाव पार्ने कुरा वाहेक अरु केही हुन सक्दैन। 

पछिल्लो समय फिल्म क्षेत्रमा देखिएका विकृति र विसंगतिको विश्लेषण गर्दा के देखिन्छ भने हरेक सञ्चार माध्यम आत्मनिर्भर बन्ने होडबाजीमा लागेका कारण आयआर्जनलाई मात्र ध्यान दिएको पाईएको छ । कानूनका आँखा छल्ने अवस्थाबाट चल्ने, जे गरे पनि हुन्छ भन्ने अवधारणा लिएर यदि सञ्चार माध्यम सञ्चालन गरियो भने त्यसले समाजमा विकारहरु उत्पन्न गराउन सक्छ । त्यसकारण त्यो विश्लेषणले गर्न सक्ने क्षमता नभएको व्यक्ति यदि सञ्चारमा काम गर्न थाल्यो भने र त्यसले आयआर्जनलाई मात्र प्राथमिकता दिन थाल्यो भने त्यो सञ्चार माध्यमले समाजमा नकरात्मक प्रभाव पार्छ । 

यस्तो संवेदनशील अवस्थामा केही राजनितिक दलका मानिसहरुले त्यस्ता विदेशी फिल्मलाई नेपालमा ल्याउन नदिने, देखाउन नदिने प्रस्ताव गरेका छन् । त्यो कुरा चाहिँ यथार्थमा सही हो तर ति पार्टीहरु गलत प्रक्रियाबाट गएका छन् । जस्तै उदाहरणका लागी विदेशी फिल्म असल चलचित्र र जनतालाई राम्रो शिक्षा दिने पनि हुनसक्छ । त्यसो हुनाले विदेशी फिल्म नै नेपालमा आउन नदिने भन्नु भन्दा सेन्सर वोर्ड राखेर यस्तो यस्तो भएको देखाउन पाईने, यस्तो देखाउन नपाइृने भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी छ । नेपाली फिल्म हुँदैमा नेपालका फिल्म असल छन् र तिनले समाजलाई अग्रगामी भूमिका खेलाउन सहयात्री भएका छन् भन्ने पनि होइन । नेपालका फिल्महरुले पनि समाजमा विकराल नकरात्मक प्रभाव पर्ने कामहरु ग्रिरहेका छन् । त्यसको सही विश्लेषण भएको छैन । राज्यपक्षबाट पनि मार्गदर्शन हुन सकेको छैन कस्तो बनाउन हुन्छ कस्तो बनाउन हुँदैन भनेर । जो सेन्सर वोर्डमा बसेका छन्, ति पनि अल्पज्ञान भएकाहरु छन् । प्रभाव मूल्याङकन गर्ने काम, काम मात्रमा सिमित छ । केवल तिनले चाहीँ नग्नतालाई मात्रै ध्यान दिएको र त्यो नग्नताको मात्रा कतिसम्म दिनुहुन्छ, कति सम्म दिनुहुँदैन भन्ने कुरामा देखाउन खोजेको पाइृन्छ । यी सबैको आधार गहन अध्ययनबाट पुष्टि भएको छैन ।

त्यस्तै विज्ञानपनको कुरा हेर्‍यौँ भने, विज्ञापन भनेको पाश्चात्य औध्योगीकरणबाट उत्पति भएको विषय हो । यो पाश्चात्य प्रभावबाट अगाडि बढ्दै आएको विषय हो । जब औध्योगीक क्रान्ति भएर औध्योगीक वस्तु उत्पादन भयो, तिनको प्रचार प्रसार र विक्रीको लागी विज्ञापनको माध्यम व्यापक रुपमा बढेको छ । विज्ञापनको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्नु पर्ने उल्टै नकारात्मक प्रभाव परिरहेको छ । वास्तवमा भन्ने हो भने, विज्ञापन भनेको उपभोक्तको लागी सुचना हो, जानकारी मात्रै हो । कुनै पनि उत्पादकले, कुनै पनि विज्ञापन दिने विज्ञापनदाताले, उसको वस्तु के कस्तो हो र त्यसको प्रभाव के हो भन्ने कुराको जानकारी मात्र हो । यस्ता जानकारी केवल सुचना अर्थात विज्ञापनको दुई चार आधारबाट गर्ने विषय वस्तु हुन् । तर अहिले एउटै विज्ञापन यति धेरै पटक गरिन्छ कि, बाल मस्ष्तिकलाइ प्रभाव पार्नै अज्ञ र अल्पज्ञ सर्वसाधारण जनतालाई प्रभाव पार्ने खालको हुन्छ । दुध पिउनु स्वास्थयलाई हानिकारक हो, कोक पिउनु स्वास्थयलाई राम्रो हो भन्ने नेपालको विज्ञापनमा छ । यी विज्ञापनको माध्यमबाट यदि नेपाली समाजलाई अघि लिएर जाने हो भने त्यसले अन्तोगत्वा नराम्रो प्रभाव मात्र होईन, अहिले तत्कालै महँगीको मारमा पनि पारेको छ । 

एउटा चाउचाउको कुरा गरौँ, १५ रुपैयाँ पर्ने एउटा चाउचाउको ५ रुपैयाँभन्दा बढीको विज्ञापन छ । त्यो विज्ञापनले त्यो चाउचाउको मूल्य बढाएको हुन्छ । यस्ता विज्ञापन जति धेरै गरिन्छ त्यति वस्तुको गुणस्तर कम हुन्छ । विज्ञापन गर्न जालीझेली र फट्ट्याईं गरेर अर्थ आर्जन गरिन्छ र त्यसरी विज्ञापन गरेर्र जबरजस्ती वस्तु बेच्ने गरिन्छ, जुन अहिले व्यापक छ । सञ्चार माध्यमले पैसाका लागी गलत विज्ञापन गरेर समाजलाई जुन विकारमा लाने अवस्था श्रृजना भएको छ त्यसले भोली नेपाली जन धनको भविष्यको लागी, नेपालका राष्ट्रियताको लागी, नेपालको एकताको लागी, नेपालको स्वाथ्यको लागी घातक र हानिकारक छ । साथै, यसले अत्याधिक महँगी बढाउन ठूलो भूमिका खेलेको छ । त्यसकारण सञ्चार माध्यमले यी वस्तुलाई एउटा आटेस, एउटा नैतिकता, एउटा न्यायिक आधार, तथ्यपरक आधार के हो, त्यसको धरातलमा बसेर विज्ञापन क्षेत्रलाई ठाउँ दिनुपर्छ अथवा विज्ञापन केवल उत्पादित वस्तुको उपभोक्तता अधिकारको हकमा जानकारी मात्रै दिने वस्तुको रुपमा मात्र रहनुपर्छ । 

पूर्वीय सभ्यतामा विज्ञापनले स्थान पाउँदैन, त्यो पारख भनिन्छ । त्यो वस्तुको गुणस्तर जुन छ, त्यसको खाँचो जति छ, त्यसलाई उपभोक्ताले उपभोग गरेपछि उपभोक्ताले रुचाएको आधारमा नै त्यस वस्तुको खरिद विक्री बढ्दो हुन्छ । त्यसलाई पारखको आधारमा बढ्दो हुन्छ । विज्ञापनको सिमा निर्धारण गर्ने काम राज्यको पनि हो । राज्यले सञ्चारको त्यस क्षेत्रमा त्यस हदसम्म जानबाट रोक्नुपर्ने अवस्था छ । एउटा स्पष्ट निर्देशिका तयार पार्नू पर्ने खाँचो छ । चामल र दुधलाई कसैले विज्ञापन नगरेपनि विक्री हुन्छ । तर औद्योगिक वस्तुलाई झुक्याउँदै धर्म र राजनितिको नाममा बेच्ने वा त्यस्ता विज्ञापनलाई सावधानिपूर्वक लिनु पर्ने आवश्यकता छ ।  

जति पनि सत्तामा पुगेका नेता छन्, त्यस्ता नेताको एकतर्फी प्रशंसा गर्दै गलत व्यक्तिलाई सज्जनको पगरी गुथाइ दिएर सञ्चार माध्यमले समाजमा गलत प्रभाव पारेका कैयौँ उदाहरण छन् । जुन कुराले नकारात्मक सन्देश दिइरहेको छ । अहिले जनतको चाहना विपरित सरकारले काम गरिहेको छ त्यो कुरालाई जनतामा लैजानु पर्नेमा त्यसो ठीक विपरित भएको हामीले अनुभूति गरिरहेका छौँ । हुन त सबै विचारलाई नेपालको सञ्चार माध्यमले ठाउँ दिएकै छैन । केवल सत्तामा पुगेका शक्ति सम्पन्न र धनसम्पन्न दलका नेतालाई मात्रै स्थान दिएका छन् । यी र यस्ता गलत क्रियाकलापले गर्दा सबै कालो धनको लगानी गर्ने ठाउँका रुपमा सञ्चार माध्यम कहलिँदो छ । जसका कारण देश र जनताको पक्षमा नेपालको सञ्चार माध्यम कहिल्यै पनि असल साथी बन्न सकेको छैन र बन्ने लक्षण पनि छैन । जबसम्म सञ्चार माध्यमले यस्तो काम प्रति गाभीरता पूर्वक सोच्दैन र सबै विचारका स्वरहरुलाई स्थान दिँदैन, तबसम्म सञ्चार माध्यमले राम्रो काम गरेको ठहर्दैन । बरु उल्टै अपराधिक राजनिति र भ्रष्ट मनोवृतिलाई पक्षपोषण गरेको ठहर्छ । त्यसैले पनि सञ्चार माध्यमले आमूल परिर्वतन गर्नैपर्ने अहिलेको आवश्यकता छ । 

कतिपय सञ्चारकर्मीलाई वास्तविक कुरा लेख्दा वा प्रसारण गर्दा जागिरबाटै हात धुनुपर्ने अवस्था पनि आउन सक्छ । यो कुरा पत्रकारले पत्रकारितामा प्रवेश गर्नु अघि नै बुझनु पर्छ, विचार गर्नु पर्छ । जसले राष्ट्रियता, स्वाधिनता, राष्ट्रिय एकता, राष्ट्रको समुन्नती, निष्पक्ष न्याय र जनताको बोली कदर गर्न चाहान्छन्, त्यो व्यक्ति यस्तो खालको पेसामा प्रवेश गर्‍यो भने त्यसको जीवन दर्दनाक पीडादायक हुन्छ । रोजगारीका लागी झुठको साहारा लिनु, तथ्यलाई बंग्याउनु, कसैको प्रशंसा वा निन्दा गर्नु नै पत्रकारको मुख्य मान्यता हो भनेर अहिले विश्व कै मान्यताको रुपमा स्थापित भइसकेको छ । चाहे त्यो व्यक्ति जतिसुकै भ्रष्ट र अनैतिक किन नहोस्, त्यसको बढाईचढाई गरेर प्रशंसा गर्नु नै पेशेवर पत्रकरको बहादुरी मानिन्छ । स्वतन्त्र पत्रकारिता विषय पढ्ने र पढाउने आर्दश एकातिर छ । यो तितो सत्य सबैले थाहा पाउँदापाउँदै पनि हामी स्वतन्त्र पत्रकारिताको वकालत गर्न भने कहिल्यै पछि परेका हुँदैनौँ । पत्रकारको ज्ञान, सीप, क्षमता, वुद्धी र विवेक सबै अरुको । विडम्बना छ, नेपाली सञ्चार जगतको । राजनितिकर्मी, भ्रष्टाचारी, राष्ट्रियतालाई खलल पुर्‍याउने कुरादेखि भाषलाई कमजोर बनाउने कुरामा बाध्य पत्रकारिता वेश्यावृति अंगाल्ने कि, एउटा समुन्नत राष्ट्र बनाउनका लागी पत्रकारको भुमिका निभाउने ? यो कुरा राम्ररी बुझन जरुरी छ । 

दोश्रो भाषामा पढेका ज्ञान, सीप, क्षमता आफनो मातृभाषामा पढेका ज्ञान, सिप र क्षमताभन्दा धेरै कमजोर हुन्छन् । किनभने उनीहरुले भाषालाई बढी समय दिनुपर्ने हुन्छ । यदि यस्तो हुन्थो भने राष्ट्र भाषामा मजबुत भईसक्ने थियो । जस्तो, फ्रान्सले फ्रेन्च, जर्मनीले जर्मनमा, फिनल्याण्डले फिनिसमा, जापानले जापानीज भाषामा पढाई गरेका कारण तिनीहरुको शिक्षास्तर धेरै माथि छ । तर जुन देशले अग्रेंजी अथवा दोस्रो आययीत भाषामा शिक्षा हासिल गर्ने गर्छ, तिनीहरुले विश्वको शिक्षा जगतमा प्रतिष्पर्धा गर्ने क्षमता नै राख्न सक्दैनन् । त्यसबाट बच्नका लागी हाम्रो देश जस्तो, जसको आफनै भाषा, संसकृति र संस्कार छ त्यसलाई शुद्ध र मजबुत बनाएर त्यसैका माध्यमबाट पढ्ने र पढाउने गर्नु पर्दछ । तर अहिले हाम्रो आफनो भाषामा श्रोत भाषाको घृणा हामी आफैँले गरिहेका छौँ । वाह्य दबाव, वाह्य भाषालाई अंगीकार गर्ने गलत कार्य सञ्चार जगतले नै गरिरहेको छ । पुर्णलाई पुर्ण, काष्ठमण्डपलाई कष्ठमण्डप भनेर भाषा र उच्चारणलाई बिगार्ने काम छापा सञ्चारभन्दा इलेक्ट्रोनिक सञ्चार माध्यमहरुले अत्याधिक गरेका छन् । त्यो रोक्न राज्य सक्षम छैन । त्यो रोक्नका लागी भाषिक एकेडेमी नै चाहिन्छ । तर त्यहीँ भाषाको पूर्ण ज्ञान भएको मान्छे भन्दा पनि पार्टीको मान्छे भर्ने काम भएको छ । यो भन्दा लाजमर्दो विषय अरु के हुन सक्छ ?

नेपाली खबर वाचनमा सबै माध्यमले भाषा तोडमोड गर्ने, भाषामा हिन्दी अंग्रेजी, फ्रेन्च, जर्मन भाषालाई सरोवरी मिसाएर प्रस्तुत गर्ने, भाषीक व्याकरणको उल्लंघन गरेर प्रसार गर्न गरेको पाइन्छ । खासगरी प्रिन्ट मिडियाभन्दा कैयौँ गुणा बढी इलेक्ट्रोनिक मिडियामा यस्ता भयंकर गल्ती भएको पाइन्छ । यसमा राज्यले पटक्कै ध्यान दिएको छैन । यसो हुनुमा यो पेशामा बढ्को चरम राजनितिकरण नै हो । यो विकृतिलाई सञ्चार माध्यमले औँल्याउनुपर्ने, देखाउन पर्ने हो, तर त्यसो नगरेर स्वेच्छाचारी भएर चलेका छन् । आजकालका सञ्चार माध्यमलाई हेर्‍यौँ भने भाषा व्याकरण उच्चारण त्रुटी मात्र छैनन् स्वरुप नै गलत भएका छन् । त्यसको असर राष्ट्रको ऐतिहासिक मात्र होइन, वैज्ञानिक भाषीक धरोहर समेत तोडमोड भएको छ । त्यसैको मौका छोपेर देशमा नाङगो आतंक फैलिएको कुरा घाम जतिकै स्पष्ट छ। यसरी सञ्चार माध्यमले देशको वास्तविक विषय वस्तुलाई टाढा पार्दै गएको छ । जबसम्म जनताको सही चाहना द्विपक्षीय रुपमा सञ्चार माध्यमहरुले प्रस्तुत गर्दैनन्, तबसम्म देशमा प्रजातन्त्र हुँदैन र अहिले सञ्चार माध्यमले दिएको योगदान भनेको भीडन्तलाई मलजल गर्ने काम मात्र गरिएको छ भनियो भने गलत हुनेछैन । किनकि गलत सुचना दिने र सम्पूर्ण विचारलाई ठाउँ नदिने सञ्चार माध्यमको नियती नै बनेको छ । यही भएर नेपालका सञ्चार माध्यमहरु प्रायः विदेशी पुँजी र विदेशी विचारमा प्रवाहित भएका कारण राष्ट्रिय विचार र राष्ट्रियताको हित गर्न साना सञ्चार माध्यमले आफुलाई टिकाउन सकेका छैनन् । यस्तो अवस्थामा पाठक वा श्रोताहरुले सावधान हुनु पर्दछ नत्र उँभो लागिँदैन । सञ्चार जहिलेसम्म विदेशी धनमा हिँड्ने र दलका नेताहरुलाई चाकडी गरेर तिनका गलत कामलाई समर्थन गरुन्जेल देशलाई योगदान दिनै सक्दैनन् । यस्तो अवस्था रहेसम्म देश प्रजातान्त्रिक अभ्यासमा पनि अगाडि बढ्न सक्दैन । 

शिक्षाका हुन् कि स्वास्थ्यका हुन्, गाँस, बास, कपासकै कुरा किन नहुन् । कसरी कम पैसामा धेरै विकास गर्न सकिन्छ ? भनेर सोच्ने ठुला आयोजनाको अवरोधका कुरा, आयोजना सञ्चालन गरेर विदेशीले हस्तक्षेप गर्ने र त्यो कामको थलो बनाउने कुरामा खबरदारी गर्नका लागी सञ्चार माध्यमले एउटा स्पष्ट अवधारणा खडा गर्नु जरुरी छ । यदी त्यस्ता विषयलाई ठाउँ दिईएन भने देशले प्रगति गर्न सक्दैन । सञ्चार माध्यमले करोडौँ पर्यटक ल्याउन सक्छ, शिक्षाका गुणस्तर बढाउने सन्दर्भमा पहल गर्न सक्छ, नेपालमा व्यवस्थित बस्ती बनाउन योगदान गर्न सक्छ । नेपालीको मौलिक आयोजनामा नेपालीको हित हुने आयोजना मात्र बनाउनका लागी निर्देश गर्ने यावत काम गर्न सक्छ । यसरी सञ्चार माध्यमले हर क्षेत्रमा योगदान दिनुपर्ने अवस्था छ, तर त्यो अवस्थामा सञ्चार माध्यम पूर्ण रुपले विफल छ । त्यसकारण सञ्चार माध्यमले एउटा ठूलो अनुसन्धान गरेर देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राष्ट्रिय चेतना जगाउँदै कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर चिन्तन् मनन् गर्नुपर्ने बेला आएको छ । सबै सञ्चार माध्यमले यस कुरालाई बुझन् अति नै आवश्यक छ ।