काठमाडौं - इरानले मंगलबार इजरायलमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेपछि इजरायली सेना र इरान समर्थित हिजबुल्लाह लडाकुहरु दक्षिणी लेबनानको जमिनमा लडिरहेका छन् ।

इजरायली सेनाले बुधबार भएको भिडन्तमा आठ सैनिकको मृत्यु भएको जनाएको छ ।

इरानले एक ब्यारेजमा लगभग २ सय ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो जुन अमेरिका र उसका सहयोगीहरूको सहयोगमा इजरायलले प्रतिरक्षा गरेको थियो ।

इरानले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र हमासका राजनीतिक नेता इस्माइल हनियाहको हत्याको जवाफमा उक्त आक्रमण भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले "ठूलो गल्ती" गरेको र यसको मुल्य चुकाउनुपर्ने बताएको थियो । इरानका सैन्य प्रमुखले इजरायलले जवाफ दिए व्यापक आक्रमण गर्ने चेतावनी दिएका छन् ।

लेबनानमा इजरायली हवाई आक्रमणमा सयौं मानिसको मृत्यु हुनुका साथै करिब १० लाख बासिन्दा विस्थापित भएका छन् ।