काठमाडौं - जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम न्यूनीकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग प्रभावकारी हुन सक्नेमा जोड दिँदै नेपालले युवाको नेतृत्वमा प्रविधिमैत्री समाधान विकास गर्नुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।

दक्षिण कोरियामा नोभेम्बर २२ देखि २६ सम्म आयोजित ‘पीवाईईएक्स २०२६ सियोल शिखर सम्मेलन’मा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियास्थित नामसियोल विश्वविद्यालयकी सहप्राध्यापक तथा नेपाल पत्रकार मञ्च (एफएनजे) की सल्लाहकार डा. सिर्जना थापाले जलवायु उत्थानशीलताका लागि युवा एआई गठबन्धनको आवश्यकताबारे प्रस्तुति दिएकी हुन्।

‘सीमाविहीन युवा : एआई गठबन्धन’ मूल नाराका साथ आयोजित सम्मेलनमा उनले नेपालको भौगोलिक बनावट, प्राकृतिक विपद्को उच्च जोखिम र ग्रामीण समुदायले भोग्नुपरेका चुनौतीलाई सम्बोधन गर्न युवालाई व्यावहारिक एआई ज्ञान तथा प्राविधिक सीप प्रदान गर्नुपर्ने बताइन्।

उनले विपद्को पूर्वानुमान, वातावरणीय अनुगमन, पूर्वचेतावनी प्रणाली तथा समुदायमा आधारित विपद् पूर्वतयारीमा एआईको प्रयोगले महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरिन्। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर बढ्दै गएकाले स्थानीय आवश्यकता र परिस्थितिअनुसार प्रविधिमा आधारित समाधान विकास गर्नुपर्ने उनको भनाइ थियो।

एआई शिक्षालाई प्रमुख सहरमा मात्र सीमित नराखी दुर्गम तथा ग्रामीण क्षेत्रका युवासम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले भौगोलिक, आर्थिक तथा पूर्वाधारसम्बन्धी अवरोधका कारण कुनै पनि युवा नवीन प्रविधिको अवसरबाट वञ्चित हुन नहुने बताइन्।

डा. थापाले नेपाल र दक्षिण कोरियाबीच शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार गर्न सके नेपाली युवाले विशेष प्राविधिक प्रशिक्षण, संयुक्त अनुसन्धान, ज्ञान आदानप्रदान तथा व्यावहारिक सिकाइका अवसर प्राप्त गर्न सक्ने सम्भावनासमेत औँल्याइन्।

जलवायु परिवर्तनले राष्ट्रिय सीमा नचिन्ने भएकाले यसको प्रभावकारी समाधानका लागि विश्वभरका युवाबीच सहकार्य आवश्यक रहेको उनको प्रस्तुतिको निष्कर्ष थियो।

दक्षिण कोरियाको राष्ट्रिय सभामा अन्तर्राष्ट्रिय सम्मेलन

पाँचदिने शिखर सम्मेलनको प्रमुख कार्यक्रमका रूपमा नोभेम्बर २४ मा दक्षिण कोरियाको राष्ट्रिय सभामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। दक्षिण कोरियाका सांसद किम योङ तेको नेतृत्वमा सम्पन्न उक्त सम्मेलन प्यासिफिक एसिया सोसाइटी (पीएएस) र सांसद किम योङ तेको संयुक्त आयोजनामा भएको हो। कार्यक्रमको संयोजन टियुम संस्थाले गरेको थियो।

प्यासिफिक एसिया सोसाइटीका अध्यक्ष बुमसु किमको अध्यक्षतामा सम्पन्न सम्मेलनमा अन्तर्राष्ट्रिय विकास सहकार्य, जिम्मेवार एआई सुशासन, युवा सहभागिता तथा विश्वव्यापी शैक्षिक साझेदारीको भविष्यबारे छलफल गरिएको थियो।

सम्मेलनमा कोरिया विश्वविद्यालयका प्राध्यापक सुङ जिन काङले एआई युगमा अन्तर्राष्ट्रिय विकास सहकार्यका चुनौतीबारे प्रस्तुति दिएका थिए। टीएमडी एजुकेसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत बोङ इक कोले अन्तर्राष्ट्रिय को–डिजाइन बैठकका उपलब्धि प्रस्तुत गरेका थिए भने चुङ–आङ विश्वविद्यालयको एआई शिक्षा केन्द्रका निर्देशक जे सुङ लीले त्यसबारे आफ्नो धारणा राखेका थिए।

नेपालका तर्फबाट डा. थापासँगै नेपाल पत्रकार मञ्चका कार्यकारी सदस्य जितेन्द्र श्रेष्ठले सहभागिता जनाएका थिए।

नोभेम्बर २३ मा चुङ–आङ विश्वविद्यालयमा आयोजित पीवाईईएक्स सियोल शिखर सम्मेलनमा नेपालसहित इन्डोनेसिया, इथियोपिया, कजाकिस्तान, लाओस, टर्की, भियतनाम र दक्षिण कोरियाका प्रतिनिधिहरू सहभागी भएका थिए।

आठ देशका शिक्षाविद्, प्राध्यापक, विभिन्न संस्थाका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सहभागीबीच एआईको प्रयोगबाट शैक्षिक अवसर विस्तार, युवा सशक्तीकरण र अन्तर्राष्ट्रिय विकास सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ गर्दै एआईको माध्यमबाट युवाको नेतृत्वमा नवीन समाधान विकास गर्ने उद्देश्यले सम्मेलनमा ‘को–डिजाइन समूह’समेत शुभारम्भ गरिएको थियो। साझा विश्वव्यापी चुनौतीको समाधानमा एआईको रूपान्तरणकारी सम्भावना उपयोग गर्ने समूहको उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्मेलनले नेपाल र दक्षिण कोरियाबीच शैक्षिक तथा प्राविधिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्ने अवसरसमेत प्रदान गरेको छ।

प्राविधिक नवप्रवर्तन तथा डिजिटल शिक्षामा दक्षिण कोरियाले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने सहभागीहरूको धारणा थियो। संयुक्त शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय प्रशिक्षण, अनुसन्धान परियोजना तथा ज्ञान आदानप्रदानमार्फत नेपाली युवाको प्राविधिक क्षमता अभिवृद्धि गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरिएको थियो।

विशेषगरी एआई शिक्षा, जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्न सके स्थानीय समुदायका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक समाधान विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनअन्तर्गत सहभागीहरूले तेजे विश्वविद्यालय, चुङ–आङ विश्वविद्यालय र योन्से विश्वविद्यालयको संस्थागत भ्रमणसमेत गरेका थिए। भ्रमणका क्रममा शैक्षिक तथा प्राविधिक गतिविधिबारे जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीका सम्भावना पहिचान गरिएको थियो।

सहभागी राष्ट्रहरूबीच आपसी समझदारी र सम्बन्ध विस्तार गर्ने उद्देश्यले सांस्कृतिक आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

सम्मेलनमा एफएनजेको सहभागिताले एआई, जलवायु परिवर्तन, युवा सशक्तीकरण तथा दिगो विकासका विषयमा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदान र सञ्चार क्षेत्रको भूमिकालाई समेत उजागर गरेको छ।