काठमाडौं - चिनियाँ पक्षले प्रधानमन्त्री बालेन शाहलाई चीन भ्रमणको निम्ता दिए पनि उनको बेइजिङ भ्रमण तत्काल नहुने देखिएको छ । दुवै पक्षका अनुसार भ्रमणको तयारीका लागि पर्याप्त समय नहुनु र नेपालमा स्थानीय तह निर्वाचनको तयारी अघि बढ्नु तत्काल भ्रमण हुन नसक्ने मुख्य कारण हुन् ।

स्रोतका अनुसार आगामी एक महिनाभित्र भ्रमणको तयारी पूरा हुने सम्भावना छैन । त्यसपछि स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक हुने भएकाले चुनाव सम्पन्न नभएसम्म उच्चस्तरीय भ्रमण सम्भव नहुने देखिएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्रीको भ्रमणबारे हालसम्म कुनै औपचारिक सूचना वा तयारीसम्बन्धी निर्देशन प्राप्त नभएको जनाएको छ । यद्यपि, केही समयपछि भ्रमण हुन सक्ने सम्भावना भने खुला रहेको नेपाली पक्षको बुझाइ छ ।