काठमाडौं - चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतबाट जेन्जी आन्दोलनमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भन्ने रघु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार तामाङलाई काठमाडौंको बौद्धस्थित माकलबारी बस पार्क क्षेत्रबाट शुक्रबार साँझ ५:३० बजे नियन्त्रणमा लिइएको हो।
प्रहरी वृत्त जनसेवाबाट २०८२ भदौ १५ गते चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता भई अनुसन्धानका क्रममा थुनामा रहेका तामाङ गतवर्षको भदौ २४ गतेको घटनामा फरार भएका थिए। फरार अभियुक्तको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको परिसरले जनाएको छ।
पक्राउ परेका तामाङलाई हाल थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवामा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।


0 comment