काठमाडौं — कीर्तिपुर नगरपालिका वडा नं. ५ बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेसँगै वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नगरप्रमुख कृष्णमान डंगोलले बालबालिकाको क्षेत्रमा थप लगानी गर्नुपर्ने बताउँदै उक्त लगानीलाई खर्चका रूपमा नभई भविष्यको लगानीका रूपमा बुझ्नुपर्ने बताउनु भयो । उहाँले बालबालिकालाई कुनै पनि स्वार्थका लागि प्रयोग गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी, कीर्तिपुर नगरपालिकाकी नगर उपप्रमुख शुभलक्ष्मी शाक्य, वल्र्ड भिजन इन्टरनेसनल नेपालकी शहरी कार्यक्रम व्यवस्थापक शान्ता राना, बाल विकास समाजकी कार्यकारी सदस्य शैलिनी ढकालले शुभ कामना मन्तव्य राखेका थिए ।
बालमैत्री पूर्वाधार निर्माण, सूचकहरूको प्रभावकारी कार्यान्वयन तथा घोषणापछिको दिगोपनामा जोड दिँदै बालमैत्री स्थानीय शासनका सूचकलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने मन्तव्य राख्ने वक्ताहरुको भनाइ थियो । त्यसैगरी अपाङ्गता भएका बालबालिकाको विशेष संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा सबैको जोड थियो ।

कार्यक्रमको समापनमा वडा नं. ५ का अध्यक्ष राजेन्द्रकुमार महर्जनले बालमैत्री वडा घोषणाका लागि सहयोग तथा योगदान पु¥याउने सम्पूर्ण संघसंस्था, सरोकारवाला निकाय, जनप्रतिनिधि, बालबालिका तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिका तथा वडा बालअधिकार समिति, बालमैत्री स्थानीय शासन समिति, बाल क्लब सञ्जाल, बाल क्लबका प्रतिनिधि, सांस्कृतिक समूह, प्रहरीलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालबालिकाद्वारा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । कीर्तिपुर नगरपालिकाका अन्य वडालाई पनि बालमैत्री वडा बनाउने चरणमा रहेको बताइएको छ ।


0 comment