काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई वैकल्पिक व्यवस्थाबिनानै हटाउन नहुने बताएका छन् ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ ।’ सरकारको यस्तो कार्य निन्दनीय रहेको भन्दै आङ्देम्बेले उनीहरुलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
उनले वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई नभएको पनि बताए । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज सम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । सरकारको जोर जबरजस्ती निर्णयको चौतर्फी आलोचना भएको छ ।


0 comment