काठमाडौं - उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का पूर्व अध्यक्ष उमेश श्रेष्ठले शिक्षा ऐनलाई समय सापेक्ष परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । 
हिसानको ३० औ वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षालाई पहिलो प्राथमिकतामा नराखेसम्म देश बन्न नसक्ने भन्दै शिक्षा ऐनलाई समय सापेक्ष परिवर्तन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

सरकार र सम्बन्धित सरोकारवाला पक्षहरुले सहकार्य गरेर अघि बढे नेपाललाई विश्वकै उत्कृष्ट शैक्षिक हबको रुपमा विकास गर्न सकिने पूर्वअध्यक्ष श्रेष्ठको दाबी थियो । उनले राज्यले प्राथमिकता नदिएका कारण मुलुकको शैक्षिक क्षेत्र कमजोर भएको र उच्च शिक्षा अध्ययन लागि लाखौ विद्यार्थीहरु विदेशिन बाध्य हुनुपरेको तथ्य पनि स्मरण गराए।

परिवर्तित समय अनुसार आवश्यक नीति, नियम र ऐन बनाएर शिक्षालाई प्राथमिकताका साथ अघि नबढाउने हो भने मुलुक अगाडि बढन नसक्ने पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले नेपाललाई अघि बढाउनका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुपर्नेमा पनि जोड दिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदा मात्रै मुलुक निर्माण कार्यले तीव्रता दिने उनले बताए ।