काठमाडौं - पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेर ल्यापटप बरामद गरेको छ। प्रहरीले अर्यालको घरबाट अनुसन्धानका लागि दुईवटा ल्यापटप  नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ। अर्याललाई मंसिर १० गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर हिजो साँझ काठमाडौं ल्याइएको छ  ।

अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए। मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएको उनीमाथि आरोप छ ।

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) का नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट असुल गरिएको थियो। यही प्रकरणमा प्रहरीले दुई जना पूर्वमन्त्रीसहित उच्चपदस्थ कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ।