काठमाडौं - महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधारतय गरिएको बताएकी छन् ।

नवौ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमार्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् । मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहतका शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन् ।

उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त कोषमा आबद्ध गराउनका लागि स्थानीय तहसँग सहकार्य भईरहेको जानकारी दिइन्। सामाजिक सुरक्षा कोषमा सबै  श्रमिकलाई आबद्ध गराउने योजना कार्यान्वयनमा सरकार गम्भिर भएर लागि परेको मन्त्री वादीको जिकिर थियो ।

चालु आर्थिक वर्षको सामाजिक सुरक्षा कोषको खर्च शीर्षक मार्फत विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट हाल संघीय सरकारका करारमा कार्यरत कर्मचारी, राहतका शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गरी नीतिगत आधार तयार गरिएको उनले बताइन् ।

त्यस्तै उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई समेत राज्यको अपनत्व हुनेगरी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नका लागि राज्यले सहयोगदान गर्नुपर्ने रकममध्ये स्थानीय तहसहित उनीहरुलाई त्यसको व्यवस्था गर्ने तयारी गरिएको जनाइन् ।

मन्त्री वादीले सामाजिक सुरक्षा कोषको प्रभावकारी परिचालनमा पनि सरकार क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णबहादुर राउतले कोषको योजनाबारे विस्तृत विवरण पेस गरेकी थिइन् ।