काठमाडौं - स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट करिब १०० जना आप्रवासी बोकेर युरोपतर्फ जाँदै गरेको उक्त डुङ्गा इन्जिन बिग्रिएपछि ३ दिनसम्म समुद्रमै अलपत्र परेको थियो ।

खाना र पानी सकिएपछि भोक र प्यासका कारण उनीहरूको ज्यान गएको उद्धार अधिकारीहरूले जनाएका छन् । स्पेनको समुद्री उद्धार टोलीले क्यानरी आइल्यान्डको 'एल हिएरो' टापुबाट करिब ७२ किलोमिटर दक्षिणमा डुङ्गा फेला पारेको थियो ।

उद्धार गरिएकामध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइएको छ भने अन्य यात्रुहरूको सकुशल उद्धार गरी डुङ्गालाई तानेर 'ला एस्टाका' बन्दरगाहमा ल्याइएको छ । अर्को डुङ्गामा सवार आप्रवासीहरू पनि सुरक्षित रूपमा 'ला रेस्टिङ्गा' बन्दरगाह पुगेका छन् ।

पछिल्लो समय क्यानरी आइल्यान्ड्समा आप्रवासीको चाप अत्यधिक बढेको छ । यसै साता एकै दिनमा कीर्तिमानी २,१०० आप्रवासी यहाँ आइपुगेपछि प्रशासनले आपतकाल घोषणा गरेको छ । आइतबार स्पेनमा हुन लागेको आम निर्वाचनको ठीक दुई दिनअघि भएको यो घटनाले चुनावी माहोलमा आप्रवासनको मुद्दालाई झनै पेचिलो बनाएको छ ।

यसैबीच, नोभेम्बर ९–१० तिर सेनेगलको 'यॉफ' क्षेत्रबाट स्पेनका लागि छुटेको करिब १७२ जना सवार अर्को एउटा डुङ्गा दुई साताभन्दा बढी समयदेखि बेपत्ता छ ।